![](https://birgunjrealestate.com/wp-content/uploads/2022/03/facebook_bug_bounty-bishal_rauniyar-birgunj_SH8ZCz0Znj.jpg)
वीरगञ्ज, २५फागुन । सामाजिक सञ्जाल फेसबुकको बग (सुरक्षा कमजोरी) पत्ता लगाएर वीरगञ्जका एक युवकले पाँच सय पचास अमेरिक डलर प्राप्त गरेका छन् ।
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ निवासी १९ वर्षीय विशाल रौनियारले फेसबुक एकाउन्ट भेरीफाई नगरिएको ईमेलबाट पनि खोल्न मिल्ने फेसबुकको सुरक्षा कमजोरी पत्ता लगाएर पुरस्कार स्वरूप उक्त रकम प्राप्त गरेका हुन् ।
फेसबुकको सुरक्षा कमजोरी पत्ता लगाएर यसरी पुरस्कृत हुने रौनियार सम्भवत: वीरगञ्जका प्रथम युवक हुन् ।
विश्वमा सबैभन्दा धेरै प्रयोगकर्ता भएको सामाजिक सञ्जाल फेसबुक हाल मेटाले आफ्नो सुरक्षा कमजोरी पत्ता लगाएर जानकारी गराउनेलाई “बग बाउन्टी” कार्यक्रम मार्फत पुरस्कृत गर्ने गरेको छ । सोही कार्यक्रमअन्तर्गत रौनियारले पनि फेसबुकको बग पत्ता लगाएर उक्त रकम जितेका छन् ।
रौनियारले फेसबुकमा जोडीएको तर भेरीफाई नगरिएको जिमेल आइडी सेटीङ्गबाट हटाएपनि पुन: त्यही इमेलको प्रयोगबाट फेसबुकको एकाउटमा लगइन गर्न (खोल्न) सक्ने सुरक्षा कमजोरी पत्ता लगाएका थिए ।
उनले, उक्त कमजोरी पत्ता लगाएर गत वर्ष फेसबुकलाई जानकारी गराएका थिए । जानकारी प्राप्त गरेको २ सय ७२ दिन पश्चात फेसबुकले कमजोरी सच्याउँदै रौनियारलाई ५ सय डलर र ढिलो गरेर जवाफ फर्काएको वापत थप ५० डलर गरेर कुल ५ सय ५० डलर इनाम दिएको छ ।
सुरक्षा कमजोरी पत्ता लगाएर लाखौँ फेसबुक प्रयोगकर्ताको गोप्य जानकारी आफुले सुरक्षित गरेको रौनियारको दावी छ । ‘फेसबुकको उक्त सुरक्षा कमजोरीका बारेमा गलत व्यक्तिलाई जानकारी लागेको भए लाखौँ मान्छेको व्यक्तिगत जानकारी (डाटा) असुरक्षित हातमा पुग्थ्यो । उनीहरुले त्यसलाई दुरुपयोग गरेर कसैको चरित्र हत्या गर्नेदेखि लाखौँ रकम ठगीसमेत गर्न सक्थे,’ रौनियारले यात्राडेलीलाई भने, ‘अहिले फेसबुकले कमजोरी सच्याएको छ ।’
आफूलाई ह्वाइटह्याट ह्याकर भन्न रुचाउने रौनियारले आगामी दिनमा पनि फेसबुक लगायत अन्य सामाजिक सञ्जालको ‘सुरक्षा कमजोरी पत्ता लगाउने बताएका छन् । उनि थप्छन, आफुले जानेको र सिकेको कुरालाई प्रयोग गर्दै यसरी इन्टरनेटको संसारलाई झन सुरक्षित र विश्वाशिलो बनाउन मैले यसरी नै सहयोग गर्ने हो ।’
वीरगञ्जस्थित जीएचपी स्कुलबाट एसईई र काठमाडौँको केएमसी कलेजबाट विज्ञान संकायमा १२ कक्षा उतिर्ण गरेका रौनियार हाल भारत ओडीसा राज्यको भुवनेश्वरस्थित किट विश्वविद्यालयमा इनिजिनीयरिङ्ग पढिरहेका छन् ।
बच्चैदेखि कम्पुयूटरमा रुची राख्ने रौनियार स्कलर विद्यार्थी हुन् । किट विश्वविद्यालयमा इनिजिनीयरिङ्ग पढाईका लागि उनले सत प्रतिसत छात्रवृत प्राप्त गरेका छन् ।