
वीरगञ्ज २६ माघ । लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) पर्सा जिल्लाका प्रभावशाली नेता राजेशमान सिंहले नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।
सिंहले बुधबार दिउँसो काठमाडौँमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उनको निवासमा भेटघाट गरेर एमाले प्रवेश गरेका प्रतिबद्धता जनाएका छन् ।
आधिकारीक रुपमा सिंहले आगामी फागुन १४ गते केपी शर्मा ओलीको उपस्थितमा वीरगञ्जमा एउटा भव्य कार्यक्रमका बीच पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको नेकपा एमाले वीरगञ्ज महानगर कमिटीका सचिव सुन्दर प्रसाद कुर्मीले जानकरी दिए ।
स्रोतका अनुसार कार्यक्रममा केपी ओलीले मञ्चबाटै सिंहलाई एमालेको तर्फबाट आगामी स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको नगरप्रमुख (मेयर) पदको उम्मेदवार पनि घोषणा गर्ने छन् । पार्टी प्रवेश गर्नका लागि सिंहले यही सर्त राखेको स्रोतको दावी छ ।
सिंहले यसअघि गत स्थानीय तहको निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) बाट वीरगञ्ज महानगरको मेयर पदका लागि उम्मेदवारी दिएका थिए । निर्वाचनमा जित हासिल नगरेपनि उनले आफ्ना प्रतिद्वन्द्वीलाई तत्कालिन संघीय समाजवादी फोरम नेपाल र नेपाली काङ्ग्रेसका उम्मेदवारहरुलाई कडा प्रतिष्पर्धा दिएका थिए ।
पर्सा जिल्लामा युवाहरु बीच सिंह एउटा लोकप्रिया व्यक्ती हुन् । उनी एमालेमा गएसँगै जिल्लामा युवाहरुको एउटा ठूलो समुहपनि एमालेमा लाग्ने निश्चित जस्तो छ ।
सिंहसँगै लाेसपा त्यागेर प्रेमबाबु पटेल, मुकेश द्विवेदीलगायतका कयौं लोकप्रिया व्यक्ति पनि एमालेमा प्रवेश गर्न लागेको कुर्मीले बताए ।
उनलाई एमाले प्रवेश गराउन पछाडीका प्रमुख नायक पार्टीका केन्द्रीय सदस्य राजकुमार गुप्ता रहेका छन् । आजको भेटघाट कार्यक्रममा गुप्ताको उपस्थितिले पनि यो कुरालाई प्रमाणित गरेको छ ।
पछिल्लो समय पर्सा जिल्लामा नेकपा एमाले प्रतिको आकर्षण बढ्दै गएको छ । यसअघि जिल्लाको जगनाथपुर गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट निर्वाचीत भएका अध्यक्ष जालिम मियाँ, छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोजकुमार गुप्तालगायत कयौँ नेताले आफ्नो पार्टी त्यागेर एमालेलाई रोजेका छन् ।
एमाले प्रवेश गर्नेमा सबैभन्दा धेरै मधेसवादी दलका नेता र कार्यकर्ता रहेका छन् ।