वीरगञ्ज, १९ अषाढ । वीरगञ्ज रक्सौल मितेरी पुलको मर्मतको काम हिजो आइतबारबाट सुरु भएको छ ।
महानगरपालिकाका प्रमुख राजेशमान सिंहको पहलमा मर्मतको काम सुरु भएको हो ।
वीरगञ्जको रजतजयन्ती चोकदेखि मितेरी पुलसम्मको सडक जीर्ण हुँदा पटक पटक सवारी साधन दुर्घटनामा पर्ने गरेका छन् ।
महानगरपालिकाका प्रमुख सिंह आइतबार आफै मितेरी पुल पुगेर स्थलगत अवलोकन गर्दै जीर्ण सडक मर्मतको काम अघि बढाउन लगाएका हुन् ।
सडक विभागअन्तर्गत रहेको यो पुल र सडक विभागले मर्मत नगर्दा वर्षौँदेखि जीर्ण छ । महानगरपालिकाले आफ्नै खर्चमा सडक मर्मतको काम अघि बढाएको हो ।
केही दिन अघि मात्रै मितेरी पुलमा रहेको खाल्डामा इरिक्सा पल्टँदा यात्रुहरु घाइते भएको घटना सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । जीर्ण सडकका कारण आउ जाउ गर्न कठीन भएकाले विभागको स्वीकृतीमै महानगरले काम अघि बढाएको हो ।