
०७२ को विनाशकारी भूकम्पपछि ठूला कमर्शियल तथा आवासिय (अपार्टमेन्ट) भवन निर्माणमा गरिएको कडाई खुकुलो गराउने भएको छ ।
शहरी विकास मन्त्रालयले हाईराइज भवनहरु निर्माण गर्न सहज हुने गरी भवन बनाउँदा छाड्नुपर्ने फ्लोर एरिया रेसियो (फार) तथा भवन र सडक किनाराबीचको न्यूनतम दुरी (सेटब्याक) सम्बन्धि मापदण्ड संशोधन गर्न लागेको हो ।
मन्त्रालयले ‘बस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड–२०७२’ लाई संशोधन गरेर स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाएको हो ।
मापदण्ड संशोधन गरेर फारको अनुपात ४ पुर्याउन लागिएको छ । हालको मापदण्डमा फारको अनुपात काठमाडौं उपत्यकामा रिङरोडभित्र ३ र रिङरोडबाहिर ३.५ हुनुपर्ने व्यवस्था छ ।
यस्तै, भवन निर्माण गर्दा छाड्नुपर्ने भवन र सडकबीचको न्यूनतम दुरी सेटब्याक पनि घटाउने प्रस्ताव गरिएको छ । अब २४ मिटर अग्लो कमर्शियल वा अपार्टमेन्ट भवन बनाउँदा सेटब्याक ५ मिटर छाडे पुग्ने व्यवस्था गरिँदैछ । हालको मापदण्डमा सेटब्याक ६ छाडेर भवन निर्माण गर्नुपर्थाे ।
सरकारले भवन निर्माणमा फार र सेटब्याक सम्बन्धी मापदण्ड परिवर्तन गरेपछि शहरमा हाईराइज आवास निर्माणले तिब्रता पाउने अपेक्षा गरिएको छ । ०७२ को भूकम्पपछि ठूला भवन निर्माणमा कडाई गरेपछि त्यसयता हाईराइज अपार्टमेन्ट परियोजना आउन सकेका छैनन् । एकाध निर्माण भइरहेका अपार्टमेन्टहरु पनि निकै महंगो मूल्य भन्न थालिएको छ । पछिल्लो समय रियलस्टेट व्यवसायीहरुले कडा मापदण्डकै कारण ठूला हाइराइज अपार्टमेन्ट भन्दा पनि सिंगल घर भएका हाउजिङ परियोजना निर्माणमा जोड दिँदै आइरहेका छन् ।
पछिल्लो समय अपार्टमेन्ट बिक्री पनि निकै कम भइरहेको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले देखाउँछ । ८ महिनाको अवधिमा जम्माजम्मी ३३७ अपार्टमेन्ट बिक्री भएका छन्, जबकी यो संख्या सिंगल घरको तुलनामा नगन्य सरह नै हो ।