पोखरिया,भारतको सिमावर्ती बलथरमा बलथर थानाका हवलदारको स्थानीयको कुटपिटबाट मृत्यु भएपछि भारतीय प्रहरीले सयौं गाउँलेहरुमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेपछि गाउँका अधिकांश बासिन्दा गाउँ छोडर भागेका छन । गाउँका अधिकांश पुरुषहरु घर छोडेर फरार भएका कारण बलथर र आर्यानगर गाउँमा यतिबेला सनाटा छाएको छ ।
गाउँमा महिला, बालबालिका र वृद्धवृद्धाहरुमात्रै रहेको र अन्य सबै फरार रहेको स्थानीयले बताएका छन । घटनापछि गाउँमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
गत साता होलीको दिन एकजना स्थानीयको कुटपिटबाट मृत्यु भएपछि आक्रोसित स्थानीयले बलथर थानका हवल्दारको पनि कुटपिट गरी हत्या गरेका थिए । होलीको दिन डिजे बजाएको निहुँमा आर्यानगर गाँउका अनुरुद यादवलाई भारतीय प्रहरीले पक्राउ गरी बलथर थानामा राखेको र उनको थानामा नै मृत्यु भएको थियो । प्रहरीले कुटपिट गरी हत्या गरेको भन्दै आक्रोशित स्थानीयले बलथर थानामा तोडफोड र आगजनी गर्नुको साथै हवलदार रामजतन रायलाई कुटपिट गर्दा उनको पनि मृत्यु भएको थियो ।
प्रहरीले भने अनुरुदको कालगतिले मृत्यु भएको तर स्थानीयले प्रहरीले हत्या गरेको भन्दै थानामा अक्रमण गरी प्रहरी हवलदारको हत्या गरेको बताएको छ ।