पर्सामा १८०१ जनालाई भर्ना गरिने
बीरगन्ज ७ चैत । स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेसँगै पर्सा जिल्लाको सदरमुकाम बीरगन्जमा म्यादी प्रहरीको आवेदन दिन आउनेहरुको लर्को लागेको छ ।
आईतबारदेखिको मिति तोक्दै नेपाल प्रहरीको मानवस्रोत एवम् प्रशासन विभाग भर्ना छनोट महाशाखाले सूचना जारी गर्दै म्यादी प्रहरी भर्नाका लागि आवेदन भर्न आह्वान गरेको थियो ।
एक महानगरपालिका, तिन नगरपालिका र दश वटा गाउँपालिका रहेको मधेश प्रदेशको मूख्य व्यापारिक जिल्ला पर्सामा १ हजार ८ सय १ जना म्यादी प्रहरी भर्ना गरिने सूचना आह्वान गरिएको छ ।
आवेदन दिने आउनेहरुको आईतबार दिउँसोभर जिल्ला प्रहरी कार्यालय पर्सा परिसर भित्र रहेको खेल मैदानमा लाम लाग्यो । लाइनमा महिलाको सङ्ख्या भने नियून देखिन्छ । पुरुषहरु भने हरेक उमेर समूहका छन् ।
सरकारले स्थानीय तह निर्वाचन सुरक्षार्थ मधेश प्रदेशमा सबैभन्दा बढी म्यादी प्रहरी खटाउने भएको छ । मधेश ८ जिल्लामा २१ हजार ६ सय ९८ जना भर्ना गर्न लागिएको जनाइएको छ ।
मधेशमा सबैभन्दा बढी धनुषामा ३ हजार ४ सय ८६ र सबैभन्दा कम पर्सामा १ हजार ८ सय १ जना भर्ना गरिनेछ । पर्साबाहेक बाँकी प्रत्येक जिल्लामा दुई हजारभन्दा माथि म्यादी खटिनेछन् ।
यसैबीच, जिल्ला प्रहरी कार्यालयमा लगभग ४० दिने म्यादी जागिर खान लाममा लागेका आवेदकहरुको संख्या हेर्दा बेरोजगारीको अवस्था कस्तो छ, प्रस्ट देखिएको छ । म्यादी जागिर खान दिउँसोभर तातो घाममा उभिएका आवेदकहरुको अवस्थाले बेरोजगारी अवस्था भयावह रहेको प्रष्ट छ ।
यस्तै, म्यादी प्रहरीको भर्ना खुलेसँगै जिल्ला प्रहरीमा दलालहरु सक्रिय भएका छन् । विभिन्न नेताहरुको भनसुनमा म्यादी प्रहरी जागिर लगाईदिने भन्दै दलालहरु आवेदन दिने आउने व्यक्तिहरुलाई फसाउनमा सक्रिय छन् । म्यादी प्रहरीमा जागिर लगाईने दिने भन्दै बेरोजगार आवेदकहरुबाट दलालहरु पैसा असुल्ने दाउमा रहेको श्रोतले बतायो ।