जनकपुर,२५ फागुन । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नं. ९ खैरेनीमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
गए राती अन्दाजी १० बजेको समयमा बर्दिया बारबर्दिया नगरपालिका वडा नं. ९ खैरेनी बस्ने सानु चौधरीको टिनले छाएको दुई कोठे कच्ची घरमा आगलागी हुँदा घर भित्र सुतिरहेको अवस्थामा रहेका १४ वर्षीय दिनेश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
अचानक आगलागी भएको भनी खबर प्राप्त हुनासाथ १० मिनेट भित्र प्र.चौ.कतर्नियाघाट तथा ई.प्र.का.मोतिपुरबाट प्रहरी टोली घटनास्थल पुगेपनि स्थानीयवासी, प्रहरी र दमकलको सहायताले एक घण्टापछि मात्र आगो नियन्त्रणमा लिन सकिएको प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले बताए ।
आगलागीबाट मृत्यु भएका चौधरीको शव पोष्टमार्टमको लागि बर्दिया अस्पताल गुलरिया राखिएको तथा अन्य थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।