
कुनै बेला साँघुरो सडक र सडकै छेउमा फुसको छाप्रो, त्यसभित्र सानासाना पसल मात्रै देखिने पर्साको ग्रामीण बजारको स्वरुप यति बेला फेरिएको छ । बजारको स्वरुप फेरिएसँगै त्यहाँका स्थानीयवासीमा पहिलाको भन्दा अचेल बेग्लै खालको उत्साह देखिन थालिएको छ । पहिलापहिला बजार क्षेत्रमा साघुँरो सडक र फुसको छाप्रो, त्यहीँभित्र साना साना व्यवसायी मात्र थियो”, जगतियाका प्रभु चौधरीले भन्नुभयो, तर अहिले सडक फराकिलोसँगै ठूलठूला पक्की भवन र ठूलो पूँजीका पसल खुल्न थालेको छ ।” विगतमा दुर्गम क्षेत्रको रुपमा परिचित पर्साकै नौकाटोल बजार अहिले सुगम क्षेत्रको रुपमा आफ्नो पहिचान फेर्न लागेको छ । यसरी छोटो समयमै पर्साका ग्रामीण क्षेत्रमा आएको परिवर्तन अन्य कुनै कारणले नभई मधेशकै ‘लाइफलाइन’को रुपमा मानिएको हुलाकी सडक निर्माणसँगै सम्भव भएको हो ।नेपालकै पुरानो राजमार्गमध्ये पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत बिरगंज र ठोरी सडक खण्डमा निर्माण कार्य तीव्र रुपमा अघि बढेसँगै पर्साका ग्रामीण क्षेत्र सुगम क्षेत्र बन्दै गएको छ । हुलाकी सडकको निर्माणको काम शुरु भएपछि सो भेगका सर्वसाधारण खुशी भएका छन् । हुलाकी सडक निर्माण भएपछि मधेसको विकासले गति लिनुको साथै हजारौँ युवामा रोजगारीको अवसर सिर्जना हुने स्थानीयवासीको विश्वास छ ।‘हुलाकी सडक जीर्ण हुँदा सर्वसाधारण सास्ती बेहोर्दै आएका थियौ पर्साको ठोरी गाउँपालिका ५का बिमल प्रधानले भन्नुभयो, हुलाकी सडक निर्माण भएपछि सदरमुकाम बिरगंजसम्म पुग्न सहज भएको बताए हुलाकी सडक विस्तार र स्तरोन्नतिको कामले पर्साको आधा दर्जन स्थानीय तहको विकासमा ठूलो टेवा पुग्ने ठोरी गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले बताउनुभयो । हुलाकी सडक निर्माणले यहाँका जनतालाई सदरमुकाम बिरगंज बजार र प्रदेश नं २ को राजधानी जनकपुरसम्म जान नजीक भएको र यसबाट विकासको अन्य ढोका खुल्दै गएको छ ।”किसानले उब्जाएको उत्पादन सहजै रुपमा बजार र बिरगंज बजारसम्म पठाउन सकिने भएको गाउँपालिका अध्यक्ष श्रेष्ठको भनाइ छ । हुलाकी सडकको निर्माणले समग्र पर्साकै मुहार परिवर्तन हुने कुरामा स्थानीयवासी मात्रै होइन, अन्य जनप्रतिनिधि पनि आशावादी देखिएका छन् । ‘‘हुलाकी राजमार्ग बनेपछि जग्गा जमीनको मूल्याङ्कन बढ्दै गएको छ पर्साको जिराभवनी गाउँपालिकाका अध्यक्ष रामपृत महतोले भन्नुभयो, ‘‘पहिला मुस्किलले रु ४देखि ५ लाख सम्ममा प्रतिकठ्ठा बिक्री हुने जग्गा अहिले रु २० देखि ३० लाख कठ्ठामा बिक्री हुन थालेको छ, यो हुलाकी सडक निर्माण भएकै कारण भएको हो ।” सडक पूर्ण रुपमा निर्माण भएर यातायातको सुविधा पुगेपछि अझ बढ्न सक्ने उहाँको कथन छ । हुलाकी सडकको निर्माणसँगै बिरगंजसँगै पर्साको ग्रामीण भेगको बजारमा व्यापार विस्तारै फस्टाउँदै गएको व्यापारी बताउनुहुन्छ । ‘‘सडक निर्माणका कारण गाउँ र बजारको दूरी घटेको छ, गाउँका स्थानीय बजारमा आएर सहज रुपमा किनबेच गरिरहेकाले व्यापार बढेको छ ।पर्साको ठोरी गाउँपालीका का व्यापारी गोकुली रेग्मीले भन्नुभयो, ‘‘पहिला सडक जीर्ण हुँदा गाउँबाट बजार आउन स्थानीयलाई समस्या हुन्थ्यो, अहिले बजारसम्म आउन सहज भएको छ, त्यसैले बिक्री बढेको छ
सडक निर्माणले गाउँ र बजारलाई जोड्ने काम गरेको रेग्मीको भनाइ छ । पश्चिमको ठोरीचौतारा बजारसम्म करीब ७० किलोमिटरको सो सडकमा पुलसँगै सडक निर्माणको काम तीव्र रुपमा भइरहेको छ । पर्साको जीराभवनीको चमरीटोल देखि ठोरीको चौतारासम्मको रोड खण्डमा करीब १८किलोमिटर सडक कालोपत्रे गरिसकेको निर्माण कम्पनी कालीका बानियाँ जेभिका कन्ट्याक्ट म्यानेजर उधब सापकोटाले जानकारी दिनुभयो । बाँकी सडकमा समेत कालोपत्रे गर्ने स्तरसम्मको काम भइसकेको र धमाधम कार्य भइरहेको कन्ट्याक्ट म्यानेजर साप्कोटाले बताउनुभयो । करीब ३० किलोमिटरको सो खण्डमा अहिले ३ वटा पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको उहाँको भनाइ छ । डिभिएम सात मिटर र दुवै छेउको सोलजर दुई÷दुई मिटर गरी ११ मिटरको सडक निर्माण भइरहेको छ ।विसं २०७७ असार मसान्तभित्र सडकको सबै काम सम्पन्न गर्ने लक्ष्य भए पनि सडक निर्माणका क्रममा विभिन्न स्थानका स्थानीयवासीले जग्गा विवादलाई लिएर अदालतमा मुद्दा हालेको निर्माण नहुँदा काम अपेक्षाकृत रुपमा अघि बढाउन नसकिरहेको म्यानेजर सापकोटाको कथन छ । यस्तै पर्साको जिराभवानी गाउँपालिका को चमरीटोल देखि चौतारा सम्मको ३०किलोमिटर सडकमा निर्माणको तीव्र रुपमा भइरहेको छ । सो सडक निर्माणको ठेक्का लिएको कालिका बानियाँ जेभीले निर्धारित समयमै सकिने गरी तीव्र रुपमा काम भइरहेको जनाएको छ । दुई लेनको सो सडक सडक कालोपत्रे गर्न रु एक अर्ब २५ करोड २० लाखमा सम्झौता भएको ठेक्का कम्पनीका इञ्जिनीयर बिकरम ज्ञावालीले जानकारी दिनुभयो । तीन वर्षभित्र काम सकिने गरी सम्झौता भएको र हालसम्म करीब ७५प्रतिशत कार्य सम्पन्न भइसकेको इञ्जिनीयर ज्ञावालीले बताउनुभयो ।
पूर्व–पश्चिम राजमार्गको समानान्तर सीमा हुँदै करीब २० देखि ३० किमी दक्षिणतर्फ भएर फैलिएको हुलाकी राजमार्गलाई राणाकालीन समयदेखि नै चिठ्ठीपत्र ओसारपसार गर्ने हुलाकी हिँड्ने छोटो बाटोको (यसलाई पदम शमशेरले आगाडि बढाएकाले पदम रोड पनि भनिने गरिन्छ । पूर्व–पश्चिम राजमार्गबाट मधेसका जिल्ला सदरमुकामसम्म जोड्ने ८१७ किमीका ३२ वटा सहायक राजमार्ग छन् । भारतका तत्कालीन प्रधानमन्त्री चन्द्रशेखरले २०४७ सालमा नेपाल भ्रमणको क्रममा हुलाकी राजमार्ग निर्माणमा भारत सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । भारतीय सहयोगको सैद्धान्तिक सहमति २०६१ सालमा भए पनि नेपालमा २०६२÷६३ को परिवर्तनपश्चात भारतले नेपाल सरकारबाट छनोट भएका एक हजार ४४० किलोमिटर सडकको डिजाइन भएको थियो