डेढ वर्षदेखि वीरगंजको अलौदेखि बहुअर्वा र हुलाकी सडकखण्डको दायाँबायाँ जग्गा खरीद गर्नेहरूको लर्को लागेको बहुदरमाई नगरपालिकाका काङ्ग्रेसी नेता राकेश यादव बताउँछन् । उनका अनुसार अहिले ठूल्ठूला औद्योगिक घरानाले जग्गा खरीद गरी बहुअर्वा गर्दौल क्षेत्रमा उद्योग लगाइरहेको बताए । उनले दिएको जानकारी अनुसार हुलास समूहको एउटा पक्षले गर्दौलमा जस्ता पाता र एंगल–च्यानल बीम उत्पादन गर्न करीब डेढ अर्बको उद्योग लगाइसकेको र उत्पादन पनि थालिसकेको बताए । गर्दौल–वीरगंज– पोखरिया सडकखण्डमा हुलाकी सडक नजीकै उक्त उद्योगले करीब ३ बिघा क्षेत्रफलमा उद्योग लगाएको छ । त्यसैगरी नेपालकै विशाल समूहले भारतीय फ्रुटी जुस र प्रशोधित बेली पानी उत्पादन गर्ने उद्योग स्थापना गर्न ८ बिघा जग्गा खरीद गरी उद्योग लगाइरहेको छ भने मोटरसाइकल एसेम्बल गर्ने उद्योग स्थापनाको लागि पनि करीब ४ बिघा जग्गा खरीद गरी छोडेको छ । वीरगंजकै व्यवसायी राजु दारूकाले सशस्त्र बेस क्याम्प अलौभन्दा पूर्व तीन वर्ष अघि करीब १६ कठ्ठा खरीद गरी अहिले पसलको लागि सटर र गोदाम निर्माण गरिरहेका छन् । विन्दवासिनी चोकमैं तिलावे खोलाभन्दा पश्चिम एउटा स्थानीय लगानीकर्ताको दाना उद्योग पनि लागिरहेको छ । सो क्षेत्रमा जग्गा सस्तो पाउने भएकोले अधिकांश व्यवसायीले जग्गा खरीद गरिरहेको वीरगंज उद्योग वाणिज्य सङ्घले जनाएको छ । वीरगज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोध कुमार गुप्ताले हुलाकी सडकसँग टाँसिएको जग्गा प्रतिकठ्ठा २५ लाखदेखि ३० लाखसम्म बिक्री भइरहेकोले सबैको ध्यान उतातिर गएको बताए । “सडक छेउको जग्गा बढीमा ३० लाख प्रतिकठ्ठा पाइन्छ, पछाडिको जग्गा ४ लाखदेखि ६ लाखसम्म”–उनले भने–“त्यही वीरगंज–पथलैयातिर सडक छेउको जग्गा कठ्ठाको ७५ देखि ८० लाख पर्छ, पछाडि १० लाखदेखि १५ लाखमा, अनि वीरगंज तिर किन्नुभन्दा हुलाकी सडकतिर किन्न सहज भएको छ ।” व्यवसायीले वीरगंज–पथलैया औद्योगिक करिडरमा एक बिघामा एउटा उद्योग लगाउँदा कम्तिमा १ अर्बभन्दा बढी रकम जग्गा खरीदमैं चाहिन्छ भने ग्रामीण भेगतिर ३०/४० लाखमैं मज्जले एक बिघा जग्गा खरीद गसकिन्छ । उनका अनुसार अहिले नेपालकै अधिकांश प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घरानाले ५ कठ्ठादेखि ५ बिघासम्म जग्गा खरीद गरिसकेको उनको भनाइ छ । “सबैले किनिसके, यो सोध्नुहोस् कसले किनेको छैन”–वीरगंज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष माधवराज पाल भन्छन्–“अरू कुनै विकल्प छैन, वीरगंज कलैयाभन्दा ठोरीतिर सम्भावना राम्रो छ ।” व्यवसायीहरूका अनुसार हुलाकी सडकले वीरगंजलाई भरतपुरसँग नजीक पारेकोले सो क्षेत्रको सडकमा उद्योग व्यवसायको सम्भावना उज्ज्वल छ । वीरगंज करिडरबाट उत्पादित मालसामान हेटौंडा ढुवानी गर्दा किलोमा ५० पैसा, चितवन रु १, काठमाडौं–पोखरा २ रुपियाँ लाग्छ भने हुलाकी सडकबाट माडी हुँदै भरतपुर माल पुग्यो भने किलोमा ढुवानी भाडासमेत ५० पैसाले घट्ने उनीहरूको विश्लेषण छ । नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश २ का अध्यक्ष गणेश लाठले मालसामानको ढुवानी लागत घट्दा उपभोक्ताहरूलाई सस्तो सामान उपभोग गर्ने वातावरण बन्ने बताए । तिलावे पुल–अलौ–बहुअर्वा सडक चौडा पार्न माग व्यवसायीले चाँडै उद्योग लगाउने योजना बनाएपछि अहिले तिलावे पुलको काम अधूरो हुँदा जग्गा खरीद गरी मात्र छोडेका छन् । तिलावे पुलको काम सम्पन्न र आइसिपी, अलौ चोकदेखि बहुअर्वासम्म साँघुरो सडक चौडा पार्ने योजना सम्पन्न भएपछि लगानीकर्ताले मन खोलेर उक्त क्षेत्रमा उद्योग लगाउने काम शुरू गर्ने व्यवसायी घरानामा चर्चा छ । वीरगंजका धागो व्यवसायी मुरली जालान पुल र ४ किलोमिटर साँघुरो सडकले दैनिक जामको सामना गर्नुपर्ने भएकोले उक्त समस्या समाधानतर्फ सरोकारवाला निकायले सोच्नुपर्ने बताउँछन् । “वीरगंज–ठोरीतिर नयाँ औद्योगिक करिडर बनिरहेको छ, तर त्यसको लागि वीरगंजबाट जानेआउने सडक पनि चौडा र सुविधासम्पन्न हुनुपर्छ”–उनले भने–“बिहान र बेलुका हुने ४ घण्टा जामले उद्योग–व्यवसाय प्रभावित भइरहेका छन् । सो क्षेत्रका सडक ५० मिटर पार्ने भनेर मुआब्जा पनि वितरण भइसकेको छ तर बजेटको अभावमा अहिले करीब १६ फिट चौडा सडकमात्र सञ्चालनमा रहेकोले दुईतर्फी गाडी चल्दा जाम लाग्ने गरेको छ । तिलावे पुलको काममा पनि पप्पु लुम्बिनी जेभीले गर्दा ६ वर्षदेखि पुलको काम भइरहेको छ । तिलावे पुलको यसै वर्ष दोस्रो स्पान पनि ढलान गरी काम पूरा गर्ने तयारी छ ।