काठमाडौं । भूमि व्यवस्था मन्त्रालयले डिजिटल प्रणालीमार्फत जग्गाको नापनक्सा तथा जग्गा प्रशासन सम्बन्धी सेवा प्रवाह निर्देशिका, २०७८ जारी गरेको छ । बिहीबार मन्त्रालयले राजपत्रमा प्रकाशित गरेर निर्देशिका कार्यान्वयनमा ल्याएको हो ।
यो निर्देशिका जारी भएसँगै अनलाइन प्रणालीमार्फत जग्गाको नापजाँच तथा जग्गा प्रशासन सम्बन्धी काम छिटो, छरितो हुने विश्वास लिइएको छ । सरकारले गत असारमै मालपोत कार्यालयमा अनलाइन प्रणाली ‘मेरो कित्ता’ कार्यान्वयनमा ल्याएको थियो ।
‘अनलाइन प्रणाली’ भन्नाले इन्टरनेटको माध्यमबाट जग्गाको नापनक्सा तथा जग्गा प्रशासन सम्बन्धी सेवा प्रवाह गर्ने गरी तयार गरिएको ‘मेरो कित्ता’ लगायतका अनलाइन प्रणाली भएको निर्देशिकामा उल्लेख छ ।
मालपोत कार्यालयले अनलाइन प्रणालीबाट कित्तानापी नक्सा प्रिन्ट, फिल्डबुक प्रिन्ट, प्लट रजिष्टर प्रिन्ट, फिल्ड रेखांकन र राजश्व भुक्तानी गर्न सकिन्छ । यी सुविधा लिन सेवाग्राहीले मालपोतमा गएर घण्टौं लाइन लाग्नुपर्ने बाध्यत्मक स्थितीको अन्त्य गरिएको हो ।