माघ २२, काठमाडौं । घरजग्गा बजारमा आएको मन्दीका कारण अहिले कारोबार निकै सुस्ताएको छ । जता गएपनि जग्गा बेच्ने मान्छे मात्रै छन्, किन्ने मान्छे छैनन् ।
काठमाडौं उपत्यकामा सीमित जग्गा विक्रीमा हुँदा पनि जग्गा विक्री नभइरहेको जग्गा धनीको गुनासो थियो । यहि अवस्थामा थप करिब डेढ लाख रोपनी जग्गा विक्रीका लागि उपलब्ध हुँदा यसले घरजग्गाको मूल्य घटाउन दवाव ल्याउँछ की भन्ने आशंकालाई थप बल मिलेको व्यवसायीहरुले बताएका छन् ।
काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं उपत्यकाका चार कुनामा रोक्का राखेको करिब डेढ लाख रोपनी जग्गा फुकुवा गर्ने तयारी गरेको छ ।
प्राधिकरणका अनुसार जग्गा फुकुवा गर्ने प्रस्ताव पेश भएर एक चरण छलफल भइसकेको र अव बस्ने बैठकले निर्णय गर्ने तयारी गरिएको छ ।
जग्गाको अधिक आपूर्तिले सेलिङ प्रेसर थप बढ्दै
अहिले काठमाडौं उपत्यकामा जग्गाको मूल्य स्थिर जस्तो देखिएको छ । समस्यमै परेका व्यवसायीले किनेकै मूल्यमा जग्गा बेचेपनि आर्थिक संकट नआएका जग्गा धनीले सस्तो मूल्यमा जग्गा बेचेका छैनन् ।
तर उपत्यकामा थप एक लाख ३० हजार रोपनी भन्दा बढी जग्गा एकै पटक विक्रीका लागि उपलब्ध हुँदा जग्गाको मूल्य थप घट्ने व्यवसायीहरुले आंकलन गरेका छन् ।
उपत्यका विकास प्राधिकरणले शहर विकास नगरी जग्गा फुकुवा गर्न लागेकोले विक्री चाप भने बढ्न सक्ने यो क्षेत्रका जानकार विनोद सुवेदीले बताए ।
तर यस अघि ८ आना भन्दा सानो टुक्रा किनबेच गर्न नपाइने ठाउँमा अव ३ आना देखि ५ आना सम्मका टुक्रा पनि किनबेच हुन सक्ने हुँदा यसले कारोबार केही बढाउन सक्ने पनि उनको विश्लेषण छ ।
नयाँ शहर नै बन्छ भनेर जग्गा किनेकाहरु यतिबेला शहर विकास नगरेरै जग्गा फुकुवा गर्न लागेपछि यो ठाउँमा किन बसिराख्नु भनेर शहरी क्षेत्रमा सर्न सक्छन् । यसले विक्री चाप धेरै बढेको खण्डमा मूल्यमा पनि केही न केही चाप भने पर्न सक्ने व्यवसायीहरुको आंकलन छ ।
भएकै जग्गा विक्दैनन्, थप लाखौ रोपनी विक्रीमा
‘अहिले सीमित जग्गा विक्रीमा हुँदा त मेरो जग्गा विक्री नभएर टाउको दुखीरहेको छ ।’ कीर्तिपुरका राजेन्द्र सुवेदीले भने, ‘बैंकबाट फोन आएको आयै छ । अव करिव एक डेढ लाख रोपनी थप जग्गा एकै पटक विक्रीमा आउँदा मेरो जग्गा विक्री हुन्छ त ?’
‘मैले कि त आधा मूल्यमा जग्गा बेच्नुपर्ने कि भने बैंकलाई लिलामी गर भन्नु पर्ने बाहेक अरु विकल्प देख्दिन ।’ उनले अगाडी भने ।
आफ्नो ठेगाना खुलाउन नचाहने गंगाराम भट्टराईले भने अहिले भइरहेको जग्गा विक्री भएको छैन । थप लाखौ रोपनी जग्गा एकै पटक विक्रीका लागि उपलब्ध हुँदा यसले समग्र घरजग्गाकै मूल्य घटाउँन सक्छ ।
‘अर्थशास्त्रको सामान्य नियमले पनि आपूर्ति बढेपछि मूल्य घट्छ । अहिले काठमाडौं उपत्यकामा अधिक आपूर्ति हुने अवस्था आएको छ ।’ एक जग्गा व्यवसायीले भने ।
आपतमा परेकाहरु किनेकै मूल्यमा बेच्न पाउँदा पनि दङ्ग
अहिले आपतमा परेका विक्रेताले किनेकै मूल्यमा जग्गा विक्री गर्न पाए भने पनि दङ्ग हुने गरेको व्यवसायीहरु बताउँछन् ।
‘संकटले घाटी च्यापेको बेला थोरै थोरै घाटा खाएरै बेच्नु पनि राम्रै हो । अहिले विक्रेताको लाइन लागेको छ । किन्ने मान्छे भट्नै सकिन्न ।’ ती व्यवसायीले भने ।